आठौँ उपमेयर छात्रा कपमा लक्ष्मी मावि र ज्ञान ज्योति माविको विजयी सुरुवात
बाँके, कोहलपुर ।
कोहलपुरमा जारी आठौँ उपमेयर छात्रा कप अन्तर माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०८२ मा लक्ष्मी माध्यमिक विद्यालय र ज्ञान ज्योति माध्यमिक विद्यालयले विजयी सुरुवात गरेका छन्।

कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन तथा व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको दोस्रो दिन आइतबार दुई खेल सम्पन्न भएका थिए। ती खेलमा लक्ष्मी मावि र ज्ञान ज्योति माविले आ–आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेका हुन्।

दोस्रो दिनको पहिलो खेलमा लक्ष्मी मावि र कृष्ण माविबीच प्रतिस्पर्धा भएको थियो। खेल संयोजक मदन विकका अनुसार उक्त खेलमा लक्ष्मी माविले कृष्ण माविलाई ४ विकेटले पराजित गर्यो। टस जितेर पहिले फिल्डिङ रोजेको लक्ष्मी माविको बलिङ सामु कृष्ण माविले १५ ओभरमा ८ विकेट गुमाउँदै ६० रन बनाएको थियो। ६१ रनको लक्ष्य पछ्याएको लक्ष्मी माविले ८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेकी रितु राजकोटी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

सोमबार भएको दोस्रो खेलमा जन ज्योति मावि र ज्ञान ज्योति माविबीच प्रतिस्पर्धा भएको थियो। खेलमा ज्ञान ज्योति मावि ३७ रनले विजयी भयो। टस जितेर पहिले ब्याटिङ गरेको ज्ञान ज्योति माविले १५ ओभरमा ३ विकेट गुमाउँदै ११६ रन बनायो। टिमको जितमा सन्ध्या थापाले २ चौकासहित ४० बलमा सर्वाधिक ३८ रन बनाइन्। यस्तै, हुमकली ओलीले पनि २ चौकासहित ३८ बलमा ३२ रनको योगदान दिइन्।


११७ रनको लक्ष्य पछ्याएको जन ज्योति मावि १५ ओभरमा ७ विकेट गुमाउँदै ७९ रनमै सीमित भयो। जन ज्योति माविका लागि अप्सरा बुढाले २४ बलमा २३ रन जोडिन्। उक्त खेलमा ३८ रन बनाएकी सन्ध्या थापा ‘म्यान अफ द म्याच’ घोषित भइन्।

यसअघि प्रतियोगिताको पहिलो दिन कोहलपुर बागेश्वरीलाई पराजित गर्दै बाल शिक्षा मावि भरैयाले जित हात पारेको थियो।
संयोजक विकका अनुसार प्रतियोगिताको तेस्रो दिन पहिलो खेल त्रिभुवन मावि र दीपज्योति विद्या आश्रमबीच तथा दोस्रो खेल पञ्चमुखी स्कुल र जनता मावि मैटहवाबीच हुनेछ।
प्रतियोगितामा कोहलपुर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी जम्मा १३ वटा विद्यालय सहभागी छन्। प्रतियोगिता कोहलपुर–११ स्थित कोहलपुर क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ।
सम्बन्धित खबर
ताजा खबर
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!