भगवतीमाई गाउँपालिकामा एम्बुलेन्स अभाव, बिरामी बोक्न गाडी पनि नपाइने: राष्ट्रियन्युजका सञ्चालक सिम्रन बिशोकरमा स्वयं पीडित
दैलेख
भगवतीमाई गाउँपालिकामा एम्बुलेन्सको अभाव र आपतकालीन सवारी व्यवस्थापन कमजोर हुँदा स्थानीय नागरिकहरू गम्भीर समस्यामा परिरहेका छन्। अझ विडम्बना त के छ भने, यो समस्याको प्रत्यक्ष मार राष्ट्रियन्युज (Rastriya News) का सञ्चालक सिम्रन बिशोकरमा स्वयंले भोग्नुपरेको छ।

पीडित सिम्रन बिशोकरमाका अनुसार उनकी दिदी एक वर्षदेखि भारतको सिम्लामा उपचाररत छिन्। स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा उनले पटक–पटक भगवतीमाई गाउँपालिका सँग गाडी वा एम्बुलेन्सको व्यवस्था गरिदिन अनुरोध गरेका थिए। “हामी आफैं तेल हाल्छौं भने पनि सहयोग पाइएन,” उनले गुनासो गरे।

स्थानीय स्रोतका अनुसार उक्त पालिकामा एम्बुलेन्स नै उपलब्ध छैन। आपतकालीन अवस्थामा बिरामी बोक्न प्रयोग गरिने पालिकाको गाडी पनि सहज रूपमा उपलब्ध नहुने गुनासो छ। “कहिले गाडी छैन भनिन्छ, कहिले चालकको फोन उठ्दैन,” उनले बताए।

तर, जनप्रतिनिधिका आफन्त वा व्यक्तिगत कामका लागि भने सोही गाडी प्रयोग हुने गरेको आरोप समेत लागेको छ। “आफ्ना मान्छे भेट्न वा अन्य काममा गाडी प्रयोग भएको देखिन्छ, तर बिरामीका लागि माग्दा पाइँदैन,” स्थानीयको भनाइ छ।

गाडी र एम्बुलेन्स नपाउँदा सिम्रन बिशोकरमाले ठूलो संघर्षपछि मात्रै बिरामी दिदीलाई भारत पुर्याउन सकेका थिए। “त्यो यात्रा निकै पीडादायी थियो, जुन अनुभव शब्दमा बयान गर्न सकिँदैन,” उनले भावुक हुँदै बताए।

यस घटनाले ग्रामीण भेगमा आपतकालीन स्वास्थ्य सेवा र सवारी व्यवस्थापनको अवस्था अत्यन्त कमजोर रहेको देखाएको छ। स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै, एम्बुलेन्सको व्यवस्था र सवारी साधनको दुरुपयोग रोक्न माग गरेका छन्।

नागरिकहरूले अब यस्ता समस्या दोहोरिन नदिन राज्य र स्थानीय तह गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सम्बन्धित खबर
ताजा खबर
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!