मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
काठमाडौं ।
मिति २०८३/०१/०३ गते दिउँसो १५:३३ बजेदेखि काठमाडौं महानगरपालिका–११, माइतीघर मण्डलाको बिस्तारित सडक खण्डमा विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा मूल्यवृद्धि विरुद्ध विरोध कार्यक्रम सुरु गरेका छन्।

अखिल क्रान्तिकारी (बहुमत निकट), जनपक्षीय विद्यार्थी युनियन नेपाल, संयुक्त विद्यार्थी संगठन, अखिल क्रान्तिकारी (प्रचण्ड निकट), वैज्ञानिक समाजवादी, अनेरास्ववियु (माओवादी निकट) र अनेरास्ववियु (एमाले निकट) को संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा अनेरास्ववियु (माओवादी निकट) का केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, अनेरास्ववियु (एमाले निकट) का केन्द्रीय अध्यक्ष दिपक धामी, जनपक्षीय विद्यार्थी युनियन नेपालकी अध्यक्ष सुनिता बुढाथोकी, अखिल क्रान्तिकारी (बहुमत निकट) का अध्यक्ष वीरेन्द्र शाह, उपाध्यक्ष रूपा बुढामगर, वैज्ञानिक समाजवादी संगठनकी अध्यक्ष फुलमति सापकोटा तथा अखिल क्रान्तिकारी (प्रचण्ड निकट) का उपमहासचिव निरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

करिब ७० जनाको सहभागिता रहेको उक्त प्रदर्शनमा सहभागीहरूले ‘मूल्यवृद्धि नियन्त्रण गर’, ‘जनतालाई राहत प्याकेज घोषणा गर’, ‘पेट्रोलियम पदार्थमा लगाइएको सम्पूर्ण कर खारेज गर’ जस्ता नारासहित ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनमा प्रयोग गरिएका प्लेकार्डहरूमा ‘एक लिटर पेट्रोलमा सात रुपैयाँ कर’, ‘नयाँ वर्षको उपहार महँगी नदेऊ सरकार’, ‘घरमा हाम्रो बास छैन किनभने ग्यास छैन’, ‘महँगी, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर’ तथा ‘सरकार सत्ताको उन्मादमा, जनता महँगीको मारमा’ जस्ता सन्देशहरू उल्लेख गरिएको थियो।
विद्यार्थी नेताहरूले बढ्दो महँगीले जनजीवन कष्टकर बन्दै गएको भन्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न र जनतालाई राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।
सम्बन्धित खबर
ताजा खबर
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!