ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
ललितपुर —
ललितपुर जिल्लाको बागमती गाउँपालिका–३ भट्टेडाँडा स्थित कान्ती लोकपथ सडकखण्डमा रहेको प्रहरी चौकी भट्टेडाँडाको चेकपोष्टमा लागू औषधसहित दुई जना पक्राउ परेका छन्।

मिति २०८१ चैत १८ गते बिहान करिब १०:३० बजे प्र.व.ना.नि मधुसुदन बिष्टको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट भैंसीतर्फ आउँदै गरेको बा ८६ प ४००९ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–१ बस्ने ३० वर्षीय सुमन तामाङ र पछाडि सवार मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका–४ बस्ने ३७ वर्षीया सुन्तली तामाङमाथि शंका लागेपछि थप सोधपुछ तथा तलासी गरिएको प्रहरीले जनाएको छ।

तलासी गर्दा सुन्तली तामाङले बोकेको आर्मी रङको झोलाभित्र रातो, सेतो र हरियो प्लास्टिकमा पोका पारेर कालो प्लास्टिकको डोरीले बाँधेर लुकाई राखिएको अवस्थामा तीन वटा पोका फेला परेको थियो। ती पोका खोल्दा लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको पदार्थ मान्यता प्राप्त तराजुमा नापतौल गर्दा जम्मा ७ केजी ५२४ ग्राम रहेको पाइएको छ।

प्रहरीले चालक सुमन तामाङ, पछाडि सवार सुन्तली तामाङ, बरामद लागू औषध तथा प्रयोग गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी चौकी भट्टेडाँडामा राखेको जनाएको छ।
सम्बन्धित खबर
ताजा खबर
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!