बाल शिक्षा माविले जित्यो आठौँ उपमेयर कप अन्तरमावि छात्रा क्रिकेटको उपाधि
बाँके ।
कोहलपुरमा सम्पन्न आठौँ उपमेयर कप अन्तरमावि छात्रा क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि बाल शिक्षा माध्यमिक विद्यालयले जितेको छ। कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालनमा माघ ४ गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार औपचारिक रूपमा सम्पन्न भएको हो।

कोहलपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा बाल शिक्षा माविले त्रिभुवन माध्यमिक विद्यालयलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। यससँगै बाल शिक्षा माविले लगातार दोस्रो पटक उपमेयर कपको उपाधि जित्न सफल भएको छ। यसअघि पनि बाल शिक्षा मावि सातौँ संस्करणको विजेता बनेको थियो।

फाइनल खेलमा त्रिभुवन माविले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको बाल शिक्षा माविले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। १२० रनको लक्ष्य पछ्याएको त्रिभुवन मावि ११.२ ओभरमै अलआउट हुँदै मात्र ३७ रनमा समेटिएको थियो।

८२ रनको प्रभावशाली जितसँगै उपाधि जितेको बाल शिक्षा माविलाई एक समारोहका बीच कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले नगद् ३५ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र तथा क्रिकेट किट प्रदान गर्दै सम्मान गरेकी थिइन्।


उपविजेता बनेको त्रिभुवन माविले नगद् २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमला क्षेत्रीले जानकारी दिए।
व्यक्तिगत विधातर्फ पञ्चमुखी इंग्लिस मिडियम स्कुल ‘फेयर प्ले टिम’ घोषित भयो। उदयीमान खेलाडीको उपाधि सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयकी करिस्मा शाहीले जितिन्। लक्ष्मी माविकी कुशुम कुमारी योगी उत्कृष्ट बलर, त्रिभुवन माविकी पास्ना योन्जन उत्कृष्ट ब्याटर तथा ‘प्लेयर अफ द सिरिज’ को उपाधि त्रिभुवन माविकी स्वतिस्का हमालले हात पारिन्।
समापन समारोहमा बोल्दै उपप्रमुख संगीता सुवेदीले विजेता, उपविजेता तथा सहभागी सबै विद्यालय टोलीलाई बधाई दिँदै छात्रा खेलकुदको विकासमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने सरोकारवालाहरूलाई सम्मान गरिएको थियो।
सम्बन्धित खबर
ताजा खबर
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!