कर्णालीमा अब स्थायी क्रिकेट मैदान बन्ने, १०औँ राष्ट्रिय खेलकुदमा केन्द्रले ढिलाइ गरेको मुख्यमन्त्रीको आरोप
सुर्खेत, २२ जेठ ।
कर्णाली प्रदेशमा क्रिकेट क्रेज बढ्दै गएपछि प्रदेश सरकारले स्थायी खेल पूर्वाधार निर्माणमा चासो देखाएको छ । राजधानी वीरेन्द्रनगरमा आयोजित एक समारोहबीच मुख्यमन्त्री यामलाल कँडेलले व्यवस्थित र स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

सुर्खेतमा शुक्रबारदेखि सुरु भएको अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले हाल सञ्चालनमा रहेका मैदानहरू अस्थायी प्रकृतिका मात्रै भएकाले नेपाल क्रिकेट संघ (क्यान) सँग मिलेर नयाँ र आधुनिक मैदान बनाउने योजना सुनाए । सीमित स्रोत र साधनका बीच पनि कर्णालीलाई खेलकुदको 'हब' बनाउन सरकार प्रयासरत रहेको उनको दाबी थियो ।
'अक्षरमा कर्णाली, अंकमा रित्तो' – मुख्यमन्त्री

उद्घाटनकै क्रममा मुख्यमन्त्री कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटे पनि संघीय सरकारका कारण ढिलाइ भइरहेको गुनासो गरे । केन्द्र सरकारले बजेट वक्तव्य र योजनामा कर्णालीको नाम धेरै दोहोर्याए पनि व्यवहारमा सधैँ उपेक्षा गर्ने गरेको उनको टिप्पणी थियो ।

"१०औँ राष्ट्रिय खेलकुदका लागि हामी पूर्ण तयारीमा छौँ, तर केन्द्रको सुस्तताले समयमै आयोजना हुन सकेको छैन," मुख्यमन्त्री कँडेलले असन्तुष्टि पोख्दै भने, "अक्षरमा कर्णाली प्रदेश भनेर धेरै लेखिन्छ, तर अंक (बजेट) आउने बेला टिठलाग्दो अवस्था हुन्छ । अहिलेको सरकारले पनि पुरानै बेवास्तालाई निरन्तरता दियो ।"
कर्णालीको मैदानबाट २०२७ को विश्वकप यात्रा
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीमा खेल पूर्वाधार र खेलाडीको अभाव भए पनि महिला क्रिकेटको जग बलियो बनाउन यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

यस्तै, क्यानका कोषाध्यक्ष एवं कर्णाली प्रदेश अध्यक्ष पदम कर्णालीमा 'स्पोर्ट्स टुरिजम' (खेलकुद पर्यटन) को प्रचुर सम्भावना रहेको बताए । सरकारले मैदान बनाइदिए त्यसको व्यवस्थापन र रेखदेखको जिम्मा क्यानले लिने उनले स्पष्ट पारे । शाहीका अनुसार यही प्रतियोगिताबाटै उत्कृष्ट खेलाडीहरू छानेर राष्ट्रिय टोली बनाइनेछ, जसले सन् २०२७ मा हुने विश्वकपमा नेपालको तर्फबाट खेल्नेछन् ।

विजेतालाई ५ लाखसहित आकर्षक पुरस्कार
प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने टोली र खेलाडीका लागि राम्रो पुरस्कार राशिको व्यवस्था गरिएको छ:
विजेता टोली: नगद ५ लाख रुपैयाँ
उपविजेता टोली: नगद ३ लाख रुपैयाँ
सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज): ४० हजार रुपैयाँ
उत्कृष्ट ब्याटर र बलर: जनही २५/२५ हजार रुपैयाँ
प्लेयर अफ द म्याच (प्रत्येक खेल): ३ हजार रुपैयाँ

क्रिकेटको विकास र नयाँ प्रतिभाको खोजीका लागि कर्णालीमा भइरहेको यो प्रतियोगितालाई निकै महत्त्वका साथ हेरिएको छ ।
सम्बन्धित खबर
ताजा खबर
कर्णालीमा अब स्थायी क्रिकेट मैदान बन्ने, १०औँ राष्ट्रिय खेलकुदमा केन्द्रले ढिलाइ गरेको मुख्यमन्त्रीको आरोप
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु