EPS CBT/UBT पीडितहरूको आन्दोलन दोस्रो दिन पनि जारी, रोष्टर अवधि थप्न माग
ललितपुर — कोरिया रोजगारीको आशामा EPS कोरियन भाषा परीक्षा पास गरी रोष्टरमा रहे पनि लामो समयसम्म पठाइएन भन्दै CBT/UBT पीडितहरूले सुरु गरेको “घोषित अन्तिम लडाइँ” नामक आन्दोलन आज दोस्रो दिन पनि जारी रहेको छ।

मिति २०८२।१०।०७ गते बिहान ११:०५ बजेदेखि ललितपुर महानगरपालिका–२५ भैसेपाटीस्थित राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान परिसरभित्र रहेको HRD Korea EPS Center in Nepal (UBT Building) नजिकको सडकमा आन्दोलन सुरु गरिएको हो।
पीडितहरूले तत्काल रोष्टर अवधि थप गर्नुपर्ने, १ वर्ष म्याद थप गर्नुपर्ने, EPS प्रणालीमा व्याप्त दलाली र घुसखोरी बन्द गर्नुपर्ने, Agriculture तर्फ फाइल भएकाहरूलाई कम्पनीमा तत्काल फाइल पठाउनुपर्ने लगायतका विभिन्न माग राख्दै प्रदर्शन गरेका छन्।

आन्दोलनमा सहभागीहरूले “रोष्टर अवधि थप गर”, “EPS मा घुस पैठ बन्द गर”, “Institute का दलाल मुर्दावाद”, “२ वर्षसम्म job count zero किन?”, “कम्पनीमा फाइल नपठाउने भए रोष्टरमा किन राखियो?” जस्ता नारासहित प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए।

प्रवल खनाल, शब्द बहादुर राई, केदार कार्की, योगकुमारी प्याकुरेल, अनिष कार्की, सुगम मुखिया, राजन ढुङ्गाना, राज राई, नरेन केसी, पदम राई, कल्पना राई, गोपाल भट्ट लगायत करिब ५०–६० जना पीडितहरू आन्दोलनमा सहभागी थिए भने पीडितहरूको सहभागिता क्रमशः बढ्दै गएको जनाइएको छ।
यसैबीच, आन्दोलनको विषयमा समाधान खोज्ने उद्देश्यले ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, HRD प्रमुख, EPS शाखा कार्यालय प्रमुख र पीडित पक्षका प्रतिनिधिबीच वार्ता तय गरिएको थियो। हिजो छनोट गरिएका १५ जना पीडित प्रतिनिधिलाई नेपाल प्रहरीले १३:४५ बजे ललितपुर जिल्ला प्रशासन कार्यालय पुर्याएको थियो।

उक्त टोली १४:०० बजे जिल्ला प्रशासन कार्यालय पुगेको थियो। त्यसपछि १४:२० बजेदेखि ललितपुर महानगरपालिका–०५ जावलाखेलस्थित जिल्ला प्रशासन कार्यालयमा वार्ता तथा छलफल सुरु भएको हो।
वार्तामा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, सुरक्षा निकायका प्रतिनिधि तथा पीडित पक्षका करिब २० जना प्रतिनिधिहरूको उपस्थिति थियो। कृषि (Agriculture) तर्फबाट कल्पना सुनुवार, योगकुमारी प्याकुरेल, हर्क लामा, अनिष कार्की, शब्द राई, तारा राई, राजन ढुङ्गाना, CBT तर्फबाट सुनिल थापा, विश्वास लामा, गणेश लामा, उद्धव कार्की तथा SHIP तर्फबाट प्रवल खनाल, कमल अधिकारी, अविनाश माझी, मनोज कठायत, छविलाल कुमाल लगायत सहभागी थिए।

पीडित पक्षले आफूहरूको समस्या लामो समयदेखि सुनुवाइ नभएको, रोष्टरमा रहँदा–रहँदै पनि कोरिया जान नपाएको र EPS प्रणालीमा व्यापक अनियमितता भएको गुनासो गरेका छन्। वार्ताबाट ठोस समाधान नआए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी समेत पीडितहरूले दिएका छन्।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!