राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको सम्भावनायुक्त क्षेत्र होः उम्मेदवार गौडेल
बाँके —
नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी गाउँपालिका पर्यापर्यटन तथा धार्मिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको बताएका छन्।

शुक्रबार राप्तीसोनारी गाउँपालिका वडा नं. ३ नारायणपुरमा प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदी, बरफानी बाबा तथा भुवर भवानी मन्दिरका कारण यस क्षेत्र पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने बताए।
उनले राप्तीसोनारी कृषि र पशुपालनका हिसाबले समेत उर्वर भूमि भएकाले यसको व्यवस्थापन र विस्तारमा आफूले नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। “यहाँको सम्भावना र समस्याबारे म पूर्णरूपमा जानकार छु। चुनावमा प्रतिबद्धता जनाएर काम नगर्ने प्रवृत्तिको व्यक्ति म होइन,” उनले भने, “पार्टीको जिल्ला सभापति भएकाले पनि यहाँका समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नु मेरो दायित्व हो।”

वडा सभापति शंकर महतराको सभापतित्वमा प्रचार–प्रसार कार्यालय स्थापना गरिएको कार्यक्रममा समानुपातिक उम्मेदवार दीप नारायण वर्माले काँग्रेस समस्या देखाउने मात्र नभई समाधान गर्ने पार्टी भएको बताए। काँग्रेस बाँकेका पूर्व उपसभापति लाहुराम थारुले आदिवासी जनजातिका विभिन्न मुद्दा काँग्रेसकै पहलमा सम्बोधन भएको उल्लेख गरे।
राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका थारुले आवेगमा लागेर विकासप्रेमी पार्टीविरुद्ध काम नगर्न कार्यकर्तालाई निर्देशन दिँदै काँग्रेस परिवर्तनको अभियानसहित अघि बढेको बताए।

कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि संगिता चौधरी, प्रदेश ‘क’ का सभापति अमर बहादुर बुढाथोकी, निवर्तमान प्रदेश सभापति लक्ष्मण थारु लगायतले मन्तव्य राखेका थिए।यसैगरी शुक्रबार नै वडा नं. ४ र ५ मा पनि प्रचार–प्रसार कार्यालय स्थापना गरिएको छ। वडा नं. ४ मा वडा सभापति कान्छा थारुको सभापतित्वमा बैजापुर चोकमा तथा वडा नं. ५ मा वडा सभापति बालकृष्ण थारुको सभापतित्वमा बिनौना मन्दिर, पिपल चौतारामा कार्यालय स्थापना गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए।

वडा नं. ४ मा आयोजित कार्यक्रममा उम्मेदवार गौडेल, समानुपातिक उम्मेदवार वर्मा, पूर्व उपसभापति थारु, क्षेत्रीय सभापति केसी लगायतले सम्बोधन गरेका थिए। वडा नं. ५ को कार्यक्रममा प्रजातान्त्रिक सेनानी संघका सचिव डिल्ली रावत, नेतृ मनिषा थारु लगायतले मन्तव्य राखेका थिए भने महाधिवेशन प्रतिनिधिहरू संगिता सुवेदी, सीता कार्की, नेतृ केशकुमारी ओली लगायतको सहभागिता रहेको थियो।

उक्त अवसरमा एमालेका स्थानीय नेता धर्मराज पुनसहितका कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेको प्रवक्ता गिरीले जानकारी दिए।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!