प्रतिनिधि विजयी भएपछि संसदबाट नयाँ राज्य संरचना निर्माणमा पहल गर्नेछौँ : विप्लव
काठमाडौँ — नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना प्रतिनिधिहरू विजयी भएपश्चात संसदबाट नेपालको राज्य संरचना परिवर्तन गर्न पहल गर्ने स्पष्ट पारेका छन्।

कार्यक्रममा बोल्दै महासचिव चन्दले हालसम्म नेपालमा राज्यसम्बन्धी विषय अधुरो रहेको उल्लेख गर्दै त्यसलाई पूर्णता दिनुपर्ने पार्टीको प्रस्ताव रहेको बताए। उनले जनताका चाहना र आकांक्षाहरू नयाँ राज्य संरचनाभित्र समेटिनुपर्ने धारणा राखे। पार्टीले जनतालाई हरेक संघर्ष, क्रान्ति र विद्रोहमा नयाँ राज्यको अवधारणासहित तयार पारेको उल्लेख गर्दै भएका बलिदान र संघर्षहरूको केन्द्रमा नयाँ राज्यको चाहना रहेको बताए।

महासचिव चन्दले प्रस्तावित राज्य पूँजीवादी नभई नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको अधिकार सुनिश्चित हुने खालको समाजवादी संघीय राज्य हुनुपर्नेमा जोड दिए। विशेष गरी उत्पीडित जातिहरूको अधिकार सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो। प्रतिनिधि विजयी भए संविधान संशोधन तथा पुनर्लेखनमार्फत जनताको साथ र सहयोगमा नेपाललाई समाजवादी संघीय राज्यमा रूपान्तरण गर्ने पहल गरिने उनले बताए।

उनले शासकीय स्वरूपका विषयमा पनि धारणा राख्दै संविधानको नयाँ व्यवस्था र राज्यको नयाँ संरचनासहित कार्यकारी प्रमुख राष्ट्रपति प्रणालीमा जानुपर्ने आवश्यकता औँल्याए। साथै, राष्ट्रपति प्रत्यक्ष जनताद्वारा निर्वाचित हुने व्यवस्था हुनुपर्ने बताए।

आर्थिक विषय नेपालमा क्रान्तिको मुख्य एजेन्डा भएको उल्लेख गर्दै महासचिव चन्दले परम्परागत आर्थिक सम्बन्ध र अन्तर्राष्ट्रिय हस्तक्षेपद्वारा निर्देशित अर्थनीतिमा परिवर्तन आवश्यक रहेको बताए। उनले नेपाली अर्थतन्त्र बहुसंख्यक जनताको हितमा जाने गरी सार्वजनिक र निजी दुवै क्षेत्रको सहकार्यमा अघि बढ्नुपर्ने बताए। आधारभूत जीवन आवश्यकताका क्षेत्रहरूमा राज्यको नेतृत्व, संरक्षण, अनुसन्धान र उत्पादन सुनिश्चित हुनुपर्ने उनको धारणा थियो।

पुँजी सीमित व्यक्तिमा केन्द्रित भई जनता संरक्षणविहीन हुने अवस्था अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उनले निजी र सार्वजनिक दुवै अर्थतन्त्रको उपयोगमार्फत समाजलाई अघि बढाउनुपर्ने बताए।महासचिव चन्दले आगामी निर्वाचनमा नेकपा (माओवादी) ले देशभर १३० जना उम्मेदवार उठाएको जानकारी दिँदै पार्टीको चुनाव चिह्न गुलाब फूल रहेको स्मरण गराए। उनले आफ्ना उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन आग्रह गर्दै जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।उक्त कार्यक्रम १५:४० बजे सम्पन्न भएको थियो।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!