जेन्जी मुभमेन्ट नेपालद्वारा निर्णायक संघर्षको घोषणा, कार्तिक २३ मा काठमाडौँमा सभा हुने
काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दा अपहरण भएको र नयाँ पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो।

भेलाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गर्दै हालको सत्ता व्यवस्थालाई ‘बलिदानको विश्वासघात’ को रूपमा व्याख्या गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहका अनुसार, “यो देशको नयाँ पुस्ताले केवल प्रतीकात्मक परिवर्तन होइन, संरचनात्मक रुपान्तरण खोजेको हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र सार्वजनिक संस्थाहरूको पुनरसंरचना बिना स्थायित्व र सुशासन सम्भव छैन।”
भेलाले दुई प्रमुख माग — प्रत्यक्ष कार्यकारी प्रणाली र संस्थागत पुनरसंरचना — पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिएको छ। साथै, मुभमेन्टले आन्दोलनलाई शान्तिपूर्ण तर निर्णायक बनाउने प्रतिबद्धता पनि जनाएको छ।

कार्यक्रममा जेन्जी आन्दोलनका अगुवा अजय सोडारीले नयाँ पुस्ताले थालेको विद्रोहका मुद्दालाई संस्थागत रूप दिन सबै युवाहरू एकजुट हुनुपर्ने बताउँदै भने, “हाम्रो बलिदान इतिहासको प्रतीक होइन, भविष्यको दिशा हो। यो पुस्ताले सत्य र परिवर्तनका लागि अन्तिमसम्म संघर्ष गर्नेछ।”
भेलामा आन्दोलनका आगामी चरण, जनसंपर्क विस्तार, र राष्ट्रिय समन्वय समिति गठनबारे समेत विस्तृत छलफल गरिएको थियो। मुभमेन्टले निकट भविष्यमै देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ।
त्यसै क्रममा, भेलाले कार्तिक २३ गते काठमाडौँमा जेन्जी सभा गर्ने निर्णय गरेको छ।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!