Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / समाचार / नयाँ पार्टी भन्दै भ्रममा नपर्नुस्, राम्रो उम्मेदवार छान्नुस् : ठम्मर बिष्ट

नयाँ पार्टी भन्दै भ्रममा नपर्नुस्, राम्रो उम्मेदवार छान्नुस् : ठम्मर बिष्ट

4 months, 2 weeks अगाडि | simran bishokarma
नयाँ पार्टी भन्दै भ्रममा नपर्नुस्, राम्रो उम्मेदवार छान्नुस् : ठम्मर बिष्ट

सुर्खेत 

उम्मेदवारी घोषणा पश्चात् जनताको घरदैलोमा पुगेका उज्यालो नेपालका उम्मेदवार ठम्मर बिष्टले नयाँ पार्टी र संगठनको विषयलाई लिएर मतदातामा देखिएको अन्योल स्वाभाविक भए पनि त्यसमा अल्मलिनु नपर्ने बताएका छन्।

घरदैलो क्रममा धेरै शुभेच्छुकहरूले “भोट हाल्ने इच्छा त छ, तर पार्टी नयाँ भयो, संगठन छैन, के गर्ने होला?” भन्ने चिन्ता व्यक्त गरेको उल्लेख गर्दै बिष्टले भने, “यो चिन्ता र सहानुभूतिका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु। तर अहिले कुन पार्टी भन्ने झन्झटतिर नफस्नुस्। तपाईंहरू राम्रो उम्मेदवारको खोजीमा हुनुहुन्छ, र यदि तपाईंको पहिलो रोजाइ म नै हुँ भने कुनै कन्फ्युजनमा नपर्नुस्।”

उनले २०७९ सालको स्थानीय तथा संसदीय निर्वाचन स्मरण गराउँदै काठमाडौं महानगरका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग कुनै पुरानो संगठन वा कार्यकर्ता नभए पनि जनताको बलमा विजयी भएको उदाहरण प्रस्तुत गरे।

बिष्टले आफू र आफ्नो समूह स्पष्ट प्रतिबद्धतासहित अघि बढिरहेको बताए। उनले विगतदेखि नै अमुक दल र नेताहरूले गर्दै आएको भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध ठोस पहल गर्दै आएको दाबी गर्दै आगामी दिनमा यो अभियान अझ सशक्त बनाइने स्पष्ट पारे।

त्यस्तै, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा देशले भोग्दै आएको लामो समयको लोडसेडिङ अन्त्य भइसकेको उल्लेख गर्दै उनले अब देशलाई समृद्ध बनाउँदै जनताको जीवन उज्यालो बनाउने महाअभियान सुरु भइसकेको बताए। “यस अभियानको पहिलो श्रेय हामीलाई जाने भएकाले हाम्रो चुनाव चिह्न ‘चिम’ बनेको हो,” उनले भने।

कर्णाली प्रदेशमा जनप्रतिनिधिको भूमिकामा रहँदा आफूले संसदमा कर्णाली प्रदेश तथा सुर्खेत क्षेत्र नं. १ का जनताको मुद्दा सक्रिय र दमदार रूपमा उठाएको बिष्टको भनाइ छ। स्वास्थ्य समस्याका कारण अस्पतालको बेडमा रहँदा बाहेक संसदमा निरन्तर उपस्थिति जनाउँदै गाउँ–बस्तीमा भौतिक पूर्वाधारको जालो बिछ्याएको कुरा सर्वविदित रहेको उनले बताए।

“अब फेरि तपाईंहरूको साथ पाएमा विकासको गति दशौँ गुणा तीव्रताका साथ अघि बढ्नेछ,” बिष्टले दाबी गरे।

अन्त्यमा उनले पार्टी मात्र होइन, सक्षम, योग्य र इमानदार व्यक्ति छान्ने सुनौलो अवसर नछुटाउन मतदातालाई आग्रह गरे। “यो अवसर गुमाउँदा क्षति उम्मेदवारलाई होइन, जनतालाई नै हुनेछ,” भन्दै उनले विकासको बाँकी हुटहुटी पूरा गर्न उज्यालो नेपालको चुनाव चिह्न **‘चिम’**मा मतदान गरी अत्यधिक मतले विजयी गराउन अपिल गरे।

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement