प्रहरी हिरासतमा श्रीकृष्ण बिकको मृत्यु प्रकरण: २३ औँ दिन पनि माइतीघरमा धर्ना जारी, सीडीओ र एसपीलाई निलम्बन गर्न माग
काठमाडौँ, ४ जेठ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-३ का श्रीकृष्ण बिकको प्रहरी हिरासतमा भएको भनिएको शङ्कास्पद मृत्युको घटनालाई लिएर पीडित परिवारले काठमाडौँमा आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन् । गत वैशाख १२ गतेदेखि सुरु भएको प्लेकार्डसहितको धर्ना कार्यक्रम आज (आइतबार) २३ औँ दिन पनि जारी रहेको छ ।

आज जेठ ४ गते बिहान ११:५५ बजेदेखि काठमाडौँ महानगरपालिका-११ स्थित माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा मृतकका परिवार र आफन्तहरूले न्यायको माग गर्दै धर्ना दिएका हुन् । धर्नामा मृतक श्रीकृष्ण बिककी आमा बिन्दा माया बिक र भाइ उमेश बिक लगायतका व्यक्तिहरूको उपस्थिति रहेको छ ।


घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका अधिकारकर्मी तथा पीडित परिवारले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी उपरीक्षक (एसपी) लाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन माग गरेका छन् ।
धर्नाकारीहरूले प्रदर्शन गरेका प्लेकार्डमा निम्नलिखित नाराहरू लेखिएका छन्:
• दलित मार्न पाइँदैन !
• सिन्धुलीको सीडीओ र एसपीलाई तत्काल निलम्बन गरी छानबिन गर !
• प्रहरी हिरासतमा हत्या कसरी भयो ?
• श्रीकृष्णलाई न्याय दे !
• घटनाको सत्यतथ्य छानबिन गर !
• जातीय हिंसा बन्द गर !
• क्षमायाचना होइन, न्याय दे !


विगत २३ दिनदेखि शान्तिपूर्ण धर्नामा बसेका पीडित परिवारले राज्यले आफ्नो मागप्रति उदासिनता देखाएको गुनासो गरेका छन् । हिरासत जस्तो सुरक्षित हुनुपर्ने ठाउँमा नागरिकको मृत्यु हुनु गम्भीर विषय भएको भन्दै यस घटनालाई जातीय हिंसाको रूपमा समेत लिइएको छ । पीडित पक्षले घटनाको सत्यतथ्य बाहिर नआएसम्म र दोषीलाई कानुनी दायरामा नल्याएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
सम्बन्धित खबर
ताजा खबर
कर्णालीमा अब स्थायी क्रिकेट मैदान बन्ने, १०औँ राष्ट्रिय खेलकुदमा केन्द्रले ढिलाइ गरेको मुख्यमन्त्रीको आरोप
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु