कोहलपुर गोल्डकप : कर्णालीमाथि नाइजेरियाली टिमको प्रभावशाली जित
बाँके :
बाँकेको कोहलपुरमा जारी चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया) ले रोयल फुटबल क्लब (कर्णाली) लाई ४–२ गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

वैशाख १९ गतेबाट सुरु भएको प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेल मौसम प्रतिकूलताका कारण अधुरो बनेको थियो। कोहलपुर–२ स्थित प्रस्तावित फुटबल रंगशालामा भइरहेको खेल ३७औँ मिनेटमा वर्षाका कारण स्थगित हुँदा जस्ट जोन एफसी १–० ले अगाडि थियो। उक्त अग्रता २९औँ मिनेटमा हम्जात डिमोलाले गरेको गोलबाट आएको थियो।


भोलिपल्ट (वैशाख २१ गते) बिहान पुनः सुरु भएको खेलमा नाइजेरियाली टोलीले आफ्नो दबदबा कायम राख्दै अन्ततः ४–२ को जित हात पारेको हो। दोस्रो हाफको ४७औँ मिनेटमा अब्दुल्लाजीजले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। त्यसको दुई मिनेटपछि कर्णालीका सन्दिप देउवाले गोल फर्काउँदै खेललाई २–१ मा ल्याए।

तर ५२औँ मिनेटमा ओवालाही अफिजले गोल गर्दै पुनः जस्ट जोनलाई ३–१ को सहज स्थितिमा पुर्याए। ५५औँ मिनेटमा विक्रम ओलीले अर्को गोल गर्दै कर्णालीलाई खेलमा फर्काउने प्रयास गरे पनि अन्तिम समयमा ९०औँ मिनेटमा ताजुदिन एडीले निर्णायक गोल गर्दै जस्ट जोन एफसीको जित सुनिश्चित गरे।



खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) घोषित भएका हम्जात डिमोलाले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उक्त पुरस्कार लुम्बिनी खेलकुद परिषद्का सदस्य जनक केसी, कोहलपुर डेन्टल हस्पिटलका प्रबन्धक गजेन्द्र शाही तथा प्रतियोगिताका अतिथि सत्कार संयोजक प्रकाश खड्काले संयुक्त रूपमा प्रदान गरेका थिए।
यसअघि उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लबले पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम) लाई २–१ ले हराएको थियो।
वैशाख २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ तथा उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता कोहलपुर–२ स्थित प्रस्तावित फुटबल रंगशालामा जारी छ।
सम्बन्धित खबर
ताजा खबर
कर्णालीमा अब स्थायी क्रिकेट मैदान बन्ने, १०औँ राष्ट्रिय खेलकुदमा केन्द्रले ढिलाइ गरेको मुख्यमन्त्रीको आरोप
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु